स्थानीय समाचार

पाल्हीनन्दनको नारा - विकासमा महिला सहभागिता, स्वालम्भी नारी, समृद्ध घरबारी

img1

 
रेडियो परासी, १० असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले विकासमा महिला सहभागिता र स्वाभलम्बी नारी, समृद्ध घरबारी नारा अघि सारेको छ । गाउँपालिकाले महिलाको नाममा दर्ता हुने व्यवसायीक फर्ममा लाग्ने करमा दश प्रतिशत छुट र महिलाको नाममा रहेको सम्पत्ति करमा पनि दश प्रतिशत छुट दिने नीति लिएको छ ।
आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि पाल्हीनन्दन गाउँपालिकाको आज सम्पन्न तेस्रो गाउँ सभामा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराउनुभएको हो । पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि एकिकृत सम्पत्ति कर लागू गर्दैछ । यसैगरी गाउँपालिकाले कृषिलाई व्यवसायीक बनाउन एक वडा एक उत्पादनको नीति पनि ल्याएको छ। यसरी सन्चालित हुने कार्यक्रममा गाउँपालिकाबाट पचास प्रतिशत अनुदान उपलब्ध गराउने अध्यक्ष गुप्ताले रेडियो परासीलाई बताउनुभयो । 
यसैगरी पाल्हीनन्दन गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि पाल्ही भगवति मन्दिर अगाडि रहेको पोखरी र नन्दन तालको सुदृढीकरण र सौन्दर्यकरण गरी जल नौका सन्चालन गरी आन्तरिक तथा बाह्रय पर्यटन आकर्षण गर्ने नीति ल्याएको छ । यसैगरी महेशपुरमा आगामी दुई वर्ष भित्रमा अत्याधुनिक बसपार्क निर्माण गरिने भएको छ । गाउँपालिकाले उपयुक्त स्थानमा रंगशाला पनि बनाउने भएको छ । यसैगरी अव गाउँपालिका भित्र घर बनाउनेले एक परिवार दुई विरुवा पनि रोप्नुपर्ने भएको छ । गाउँ सभामा अध्यक्षद्धारा प्रस्तुत नीति तथा कार्यक्रम संसोधन सहित पारित भएको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले रेडियो परासीलाई जानकारी दिनुभयो । अव आगामी विस गते गाउँपालिकाको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो ।