स्थानीय समाचार

बर्दघाटका चारवटा वडा खरको छानोमुक्त

img1

 
मोहन पौडेल
रेडियो परासी, ७ जेष्ठ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका चार वटा वडा खरको छानोमुक्त बनाईएको छ । बर्दघाट नगरपालिकालाई नै खरको छानोमुक्त नगरपालिका बनाउने अभियान अन्र्तगत यस वर्ष चार वटा वडालाई खरको छानोमुक्त बनाईएको हो । 
बर्दघाट नगरपालिकाका योजना शाखा प्रमुख कृष्ण थापा क्षेत्रीका अनुसार वडा नं. १,३,७ र ९ खरको छाना मुक्त भएका छन् । खरको सट्टामा जस्तापाता लगाईएको छ । त्यसका लागि नगरपालिकाले प्रति घरधुरी रु २५ हजारको दरले अनुदान दिएको क्षेत्रीले बताए । वडा नं. १ का ७ घरधुरी, वडा नं. ३ का ५ घरधुरी, वडा नं. ७ का ३ घरधुरी र वडा नं ९ का ८ घरधुरी खरको छानोमुक्त भएको र केही दिनमा औपचारिक घोषणा हुने बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले रेडियो परासीलाई जानकारी दिए । 
नगरपालिकाले वडामार्फत गरिएको आवेदनमा २ सय ७ जनाले आवेदन दिएका थिए । ति मध्ये चालु आर्थिक वर्षमा ७० घरधुरीलाई खरको छानोमुक्त बनाउने गरी रु १९ लाख बजेट विनियोजन गरिएको उनले बताए । अन्य वडामा पनि खरको छानो विस्थापित गरी जस्तापाता राख्ने काम भईरहेको छ । 
आगामी आर्थिक वर्ष भित्र नगरका सवै वडामा रहेका खरको छानाको घरलाई खरको छानामुक्त बनाउने लक्ष्य रहेको प्रमुख शर्माले बताए । बर्दघाट नगरपालिकालाई नै खरको छानोमुक्त बनाउनका लागि आवश्यक पर्ने बजेट अवको योजनामा विनियोजन गरिने उनले बताए । 
आफूले निर्वाचनको बेला गरेको प्रतिवद्धता अनुसार आगामी आर्थिक वर्षभित्रै खरका छाना विस्थापन हुने प्रमुख शर्माले बताए । गरिब र निमुखा परिवारले वर्षेनी खरको छाना लगाउन आर्थिकरुपमा समस्या हुने र घरमा पानी चुहिने जस्ता समस्या भोग्नुपरेकोले यो योजना ल्याएको उनले बताए । पुरानो शैलीमा निर्माण गरिएका खरका छानाका घर वर्षेनि छाउनुपर्ने झन्झटबाट नागरिकलाईमुक्त बनाईएको नगरपालिकाले जनाएको छ ।
आर्थिकरुपमा पछाडि परेका विपन्न, गरिब, दलित समुदाय खरका छाना विस्थापन गर्न नगरपालिकाले अनुदान दिएपछि खुशी छन् । खरको छाना हाल्न कामदार, खर चोया, काठको समेत वर्षेनी अभाव बढेको छ । माटाका भित्ता, टाटी र छाना खरको हुने भएकाले गर्मी र जाडोमा असर नगर्ने भएपनि आगो लगायतबाट सधैं जोखिममा रहनुपर्ने नागरिकको गुनासो थियो । बर्दघाट नगरपालिकाको यो अभियानले विपन्न परिवारमा खुसी छाएको छ ।