खेलकुद समाचार

पश्चिम नवलपरासीमा १० औँ राष्ट्रपति रनिङ शिल्डको तयारी तीव्र

img1

 
मोहन पौडेल/रेडियो परासी । २१ चैत्र २०७४ । पश्चिम नवलपरासीमा यही चैत्र २३ गतेबाट हुन लागेको १० औँ राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति नवलपरासीको आयोजना र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हुने सो प्रतियोगिता तयारीलाई करिव तन्तिम चरणमा पुराईएको निर्देशन समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपरासी पश्चिमका प्रमुख शिवशंकर रायले जानकारी दिनुभयो । 
प्रतियोगिता अन्र्तगत चैत्र २३ देखि तीन दिनसम्म निर्वाचन क्षेत्र स्तरीय र चैत्र २८ देखि तीन दिन फाईनल खेल हुने छ । क्षेत्रीय प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई फाईनलमा समावेश गरिने छ । निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता निर्वाचन क्षेत्र नं. १ को राजा महात्मा पुर्णभद्र मावि भुताहा र क्षेत्र नं. २ को धान्यान्चल महायज्ञ मावि बडेरामा तथा फाईनल राजा महात्मा पुर्णभद्र माविमा आयोजना हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आलेले जानकारी दिनुभयो । 
प्रत्येक वर्ष आयोजना हुने यो प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका र कक्षा १२ सम्म नियमित अध्ययनरत छात्र छात्राहरुबीच समुहमा एथलेटीक्स(फिल्ड र ट्रयाक) र समुहगत रुपमा भलिवल, कबड्डी, मार्सल आर्ट लगायतका प्रतियोगितामा प्रतिस्पर्धा गराईने अध्यक्ष आलेले जानकारी दिनुभयो । 
विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको सो प्रतियोगिताको क्षेत्रीय खेलको उद्घाटन क्षेत्र नं. १ मा प्रदेश सांसद दिपेन्द्र अधिकारी र क्षेत्र नं. २ मा प्रतिनिधि सभा सांसद देवेन्द्रराज कण्डेलले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा पश्चिम नवलपरासीका ५५ वटा सामुदायिक र ५३ संस्थागत गरी एक सय ८ विद्यालयका २ हजार २ सय विद्यार्थीले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
क्षेत्रीय स्तरको कुल ७ खेल र १८ वटा ईभेन्टबाट छानिएका ३ सय २० खेलाडि मध्य८४ खेलाडि प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट हुनेछन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु १५ हजार, द्धितिय हुने विद्यालयले नगद रु १२ हजार र तृतिय हुने विद्यालयले नगद रु ९ हजार प्राप्त गर्नेछ भने प्रथम हुने विद्यालयले रनिङ शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।