स्थानीय समाचार

रेडियो परासीद्धारा सहकारीकर्मीबीच सहकारी सुशासन विषयक अन्तरक्रिया आयोजना

img1

 
मोहन पौडेल/रेडियो परासी
१९ चैत्र । सहकारी संस्थाहरुको सुशासनका लागि स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने सरोकारवालाहरुले बताएका छन् । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज र डिभिजन सहकारी कार्यालय नवलपरासीले संयुक्त रुपमा आईतबार परासीमा गरेको सहकारीमा सुशासन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सहकारीकर्मिहरुले सो कुरा बताएका हुन् । अव सहकारीहरु कार्यक्षेत्रको आधारमा स्थानीय , प्रदेश तथा संघीय सरकारको मातहतमा हस्तान्तरण हुँदैछन् । स्थानीय तहमा सहकारी हस्तान्तरण भएपछि सहकारीको अनुगमन, नियमन, सहयोग तथा प्रवद्र्धनमा स्थानीय सरकारले पुर्ण रुपमा सहयोग गर्ने रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । यस क्षेत्रका कतिपय सहकारी संस्थाहरुले अनविज्ञताका कारण सहकारी नियम विपरित कारोवार गर्ने गर्दा सहकारीमा विकृत्ति निम्तीएको भन्दै उनले अव स्थानीय सरकारले यसको अन्त्यका लागि पहल गर्ने बताए ।
यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय परासीका प्रमुख महेन्द्र भण्डारीले सहकारीको सुशासनका लागि सम्पत्ति शुद्धिकरणमा सहकारीले ध्यान दिनुपर्नेमा जोड दिए । डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख बुद्धप्रकाश पौडेलले सहकारी ऐन २०७४ अनुसार अव बचत तथा ऋण बाहेकका सहकारीले बचत तथा ऋणको कारोवार ३० प्रतिशत र ७० प्रतिशत आफ्नो उद्देश्य अनुसारको मात्र गर्न पाउने बताए । एउटै प्रकृत्तिको सहकारीमा दोहोरो सदस्यता लिन नपाउने तथा एउटा सहकारीमा सञ्चालक र अर्काे सहकारीमा कर्मचारीको रुपमा काम गर्ने क्रम पनि अव अन्त्य हुने उनले बताए । जिल्ला सहकारी संघका कोषाध्यक्ष हैदर अलि मोमिनले सहकारी संघ संस्थाका लेखा समिति तथा विभिन्न उपसमितिले सक्रियतापुर्वक काम गरेमा सहकारीमा सुशासन हुने बताए । सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमको सहजीकरणमा भएको सो कार्यक्रममा पश्चिम नवलपरासीका विभिन्न सहकारी संघ संस्थामा कार्यरत अध्यक्ष तथा व्यवस्थापक एवं लेखापरिक्षकहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए । ६१ औँ राष्ट्रिय सहकारी दिवस चैत्र २० गते मनाईदैँछ । दिवसको अवसरमा सो दिन जिल्ला सहकरी संघले परासीमा विशेष समारोह पनि आयोजना गरेको जनाएको छ ।