स्थानीय समाचार

चुनावसँगै किसानलाई धान रोप्न चटारो

 
मालती न्यौपाने/रेडियो परासी, १२ असार । नवलपरासीमा  असार १४ गते हुने दोश्रो चरणको चुनावको लागि किसान पनि उत्साहित रहेका छन् । नेतालाई चुनाव लागे जस्तै अहिले नवलपरासीको परासी क्षेत्रका किसानलाई असारको चटारो लागेको छ । नवलपरासीको बर्दघाट ९ शिववस्तीका  किसान रबिलाल कण्डेलको  यस बर्षको रोपाइँ सकिएको छ । साविकको तिलकपुर भगडामा रहेको करिव डेढ बिगाह खेत २ दिन लगाएर रोपाइँ गरेका रबिलाल अहिले ढुक्क भएर निर्वाचनमा सहभागी हुने बताउनुहुन्छ । 
हुन पनि अहिले किसानलाई भ्याई नभ्याई छ एकातिर मानो रोपेर मुरी उब्जाउने असारेमास अनि अर्कोतिर झण्डै २० बर्ष पछि हुन लागेको स्थानीय चुनावको चटारो । पानीको बाटो कुर्नुपर्ने किसानलाई चुनावकै दिन पानी परेर पछुतो हुने हो की भन्ने पीर छ त्यसलै पनि नजिकमा खोला भएका अथवा कुलो तथा सिंचाईको सुबिधा भएका किसानले चुनाव सम्म रोपाई सक्ने मेसो अपनाएका छन् ।
 नवलपरासीको बर्दघाटकै अर्का किसान रेशम थापाले खोलाबाट पानी तानेर आफ्नो रोपाई सक्नुभयो ।। बिगतका बर्षमा असार १५ पछि रोपाईँ सुरु गर्ने उहाँले चुनावमा सहभागि हुनकै लागि  पानी तानेर भए पनि रोपाईं सकेको बताउनुभयो । रबिलाल र रेशमलाई जस्तै असारे चटारो छ नवलपरासीको रामग्रामका किसान भगत चौधरीलाई पनि । पप्पुसेटबाट पानी लगाएर धमाधम रोप्दै गरेका उनले एकातिर भएको खेत मात्रै रोप्न सकिए पनि अरु बाँकि चुनाव पछि नै रोप्ने योजना सुनाउनुभयो । 
 अहिले नवलपरासीको नवलपुर र परासी दुबै क्षेत्र तिर धमाधम रोपाई चलिरहेको छ । नवलपरासीमा कुल ४८ हजार २५० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । जसमा ४६ हजार ५ सय हेक्टर क्षेत्रफलमा बर्खे धान र १७ सय ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिने जिल्ला कृषि बिकास कार्यालय नवलपरासीले जनाएको छ । नवलपरासीमा अहिलेसम्म जम्मा ७ प्रतिसत मात्रै रोपाई सकिएको जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका बरिष्ठ कृषि बिकास अधिकृत तेज नारायण गैरेले बताउनुभयो ।