स्थानीय समाचार

नवलपरासीमा चार जना विप्लव कार्यकर्ता पक्राउ ।

 
रेडियो परासी, १३ असार । नवलपरासीको सुनवलमा आइतबार मानवीय क्षति हुने गरी गराइएको बम  विष्फोट घटनाको अनुसन्धान गर्न प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुनवल नगरपालिकाका विभिन्न राजनीतिक दलले निकालेको चुनावी  जुलसमा नेकपा माओवादी केन्द्रको ¥यालीलाई लक्षित गरी आइतबार
दिउसो सोमनाथ पुलमा बम विष्फोट गराइएको थियो । 
प्रहरीले टाईम बम राखेर विष्फोट गराएको अनुमान गरेको छ ।  विष्फोटमा ६ जना घाइते भएका थिए । घाइते मध्ये सुनवल नगरपालिकाका  लेखनाथ सुवेदीको अवस्था गंभीर रहेकाले उपचारका लागि काठमाण्डौं पठाइएको छ । अर्की गंभीर घाइते बेलकुमारी कठरियाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । विष्फोट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गराएको आशंकामा प्रहरीले चार जना कार्यकर्ता लाई पक्राउ गरेको छ । 
पक्राउ परेका सबैलाई जिल्लाका विभिन्न स्थानमा भएका बम विष्फोट, सवारीसाधन  माथिको आगजनीका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी उपरीक्षक  राजेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । 
पक्राउ पर्नेमा विनयीत्रिवेणी गाउपालिका ३ का पुरुषोत्तम रेग्मी सरावल गाउपालिका –१ का कान्तीशंकर पराजुली  सुनवल नगरपालिका –१२ की दुर्गादेवी पाण्डे र मध्यविन्दु नगरपालिका–९ का धनबहादुर कुमाल रहेका छन् । 
उनीहरुले निर्वाचन विरोधी शंकास्पद गतिविधि गरेको  अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो । मनोनयन दर्तापछिको एक हप्ताको अवधिमा बर्दघाट र सुनवल नगरपालिकामा 
पांच  विष्फोट र आगजनीका घटना भएका छन् ।  जसमा तीन वटा विष्फोट र दुई वटा सवारी साधन माथि आगजनी भएका छन् । 
घटनामध्ये चार वटा माओवादी केन्द्र माथि भएका छन् ।  एउटा विष्फोटको घटना एमालेका उम्मेदवारको घरमा गराइएको छ ।  सबै घटना विप्लव समूहले गराएको आशंकामा जिल्ला सुरक्षा समितिले उनीहरुमाथि निगरानी बढाउदै आएको छ ।