स्थानीय समाचार

सामुदायिक रेडियो परासी दश वर्षमा प्रवेश

img1

 
मोहन पौडेल
रेडियो परासी, ३ जेठ ।सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज आज देखि दश वर्षमा प्रवेश गरेको छ । सदरमुकाम परासी क्षेत्रको पहिलो सामुदायिक रेडियोको रुपमा २०६५ जेष्ठ ३ गते स्थापना भई रेडियो परासी प्रसारणमा रहेको हो । दैनिक विहान ५ बजे देखि राती ११ बजे सम्म रेडियो प्रसारण भईरहेको छ । 
रेडियोले दैनिक सात वटा आफनै उत्पादनका समाचार सहित उज्यालो, सिआईएन, विविसी लगायतका समाचार पनि प्रसारण गर्दै आएको छ । यसैविच विभिन्न शिक्षा, सुचना र मनोरन्जनमुलक रेडियो कार्यक्रमहरु, नेपाली, भोजपुरी, थारु, उर्दु लगायतका भाषामा पनि प्रसारण गर्दै आएको छ । एक दशकको यो अवधिमा सामुदायिक रेडियो परासी यस क्षेत्रका नागरिकको ढुकढुकी बनिरहेको छ । 
सहकारीका मुल्य, मान्यता तथा सिद्धान्त अनुरुप सहकारीताको भावनालाई आत्मसाथ गर्दै परासी सूचना तथा संचार सहकारी संस्था लिमिटिेडले रेडियो संचालन गरिरहको छ । ५०० वाट क्षमता भएको र १२७ जना शेयर सदस्यहरुको प्रारम्भिक योगदान सामुदायिक रडियो परासीमा रहेको छ ।
प्रसारणको हिसावले नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाँची कपिलवस्तु तथा अन्य क्षेत्रमा सुन्न सकिन्छ । रेडियो परासी यस क्षेत्रका विभिन्न जात जाति धर्म र संस्कृतीको जगेर्ना गर्ने, विकासको सन्दर्भमा सहयोगी र साझेदार वन्ने कार्य गरिरहेको रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो । 
रेडियो परासीले समुदायको हित, रक्षा र प्रतिष्ठा स्थापित गर्न निकै महत्वपूर्ण भूमिका खेलेको छ । मेला पर्व, महोत्सव होस वा विभिन्न समुदायका धार्मिक कार्यमा पनि रेडियो ले प्रतिनिधित्व गरेको छ । रेडियोले आफ्नो स्थापनाकाल देखिनै समुदायमूखी, समुदाय मैत्री भई विभिन्न कार्यक्रमहरु संचालन गरिएको अध्यक्ष सुमन गोपाल आर्चायले बताउनुभयो । 
सही सुचना र जानकारीकालागि सामुदायिक रेडियो परासीले निरन्तर कार्य गरिहेको छ जसका कारण नागरिकहरु आफ्नो हक, अधिकार र कर्तव्यमा सचेत हुने मौका पाएका छन् । साथै रेडियो परासीले आफ्ना विविध रचनात्मक कार्यक्रमहरुबाट पनि समुदायको सचेतिकरणमा योगदान पुर्याएकोले स्वास्थ्य, शिक्षा, वातावरणीय सरसफाई, पूर्ण सरसफाई, व्यक्तिको आनिवानीमा परिवर्तन ल्याउने कार्यक्रमबाट सकारत्मक उपलब्धी भएको प्रवन्ध निर्देशक गौतमले बताउनुभयो । 
सामुदायिक रेडियो परासीले आफ्नो प्रसारणको दशक विताइरहँदा नागरिकलाई एक अर्कामा जोड्ने समावेशी आवाजको मर्मलाई आत्मसाथ गर्ने काम गर्यौ भने अव पनि निरन्तर राष्ट्यि एकताको पक्षमा नागरिकहरुलाई उभ्याउने खालका रचनात्मक कार्यक्रम संचालन गर्ने, विकृती, विसंगति र अधिकारको दुरुपयोगका विरुद्ध आफ्नो कदम निरन्तर र निर्भिक तरिकाले संचालन गर्ने छ । रेडियो परासीले हाल सम्म यस क्षेत्रका नागरिकबाट अथाह माया, सहयोग र साथ पाईरहेको छ । आगामी दिनमा पनि हामिलाई निरन्तर साथ, सहयोग, माया र सुझाव सल्लाह पाइरहनेमा हामी विश्वस्त छौँ ।