राष्ट्रिय समाचार

काठमाडौं महानगरमा कांग्रेस र एमालेको दाबीः जित्नेमा ढुक्क छौं

 
 
१ जेठ, काठमाडौं । देशकै राजधानी शहर र जेठो महानगर भएकाले काठमाडौं महानगरपालिको चुनावी परिणामबारे यतिखेर सर्वत्र चासो छ ।
 
 
ठूला दलका उम्मेदवारका साथै वैकल्पिक शक्तिका रुपमा विवेकशील नेपाली, साझा पार्टीका अनुहार पनि चुनावी मैदानमा भएकाले यहाँको भिडन्तलाई रोचक रुपमा हेरिएको छ ।
 
काठमाडौंमा मेयरका उम्मेदवार बनेकाहरु यतिखेर निकै उत्साहित छन् । खासगरी नेपाली कांग्रेस र नेकपा एमालेले महानगरको मेयरमा आफूहरु नै मुख्य प्रतिस्पर्धी भन्दै आफूले नै जित्ने दाबी गरिरहेका छन् ।
 
कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीलाई अनलाइनखबरले सम्पर्क गर्दा उनी निवासमै नेता-कार्यकर्ताबाट घेरिएका भेटिए । निर्वाचनको प्रचारप्रसारको धपेडीबाट सुस्ताइरहँदा मतपरिणाम के आउला भन्ने मुख्य परीक्षाले घेरेको छ ।
 
मतगणना कतिबेला सुरु हुन्छ भनेर टुंगो नलागिरहेको बेला राजुराजले मतपेटिकाभित्रको रहस्यले केही तनाव पक्कै दिएको बताए । तर, जित्नेमा धेरै ढुक्क रहेको उनको भनाइ छ ।
 
आफ्नै निवासमा पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुसँग छलफल गरिरहेका राजुराजले एउटा समूहले गरेको मत सर्वेक्षणको नतिजा सुनाउँदै आफूले काठमाडौंको ४२ प्रतिशत मत ल्याउने सुनाए । एमालेलाई मुख्य प्रतिस्पर्धी भन्दै उनले सर्वेक्षणमा एमालेको पक्षमा ३१ प्रतिशत मत देखिएको बताए ।
 
एमालेसँग कति अन्तरले जित होला त ?
 
उनले भने, ‘१५ देखि २० हजार मतको अन्तरले म जित्छु ।’
 
काठमाडौंमा वैकल्पिक शक्तिको चर्चा भए पनि शहरको कोर एरियाका साथै अन्यत्र पनि कांग्रेस र एमालेबीच नै खास प्रतिस्पर्धा हुने बताए ।
 
चुनावी परिणाम केही गरी आफ्नो पक्षमा नआएमा उनले के गर्छन् ?
 
उनले स्वाभाविक रुपमा बताए, ‘पक्कै पनि निर्वाचित भएर आउने मेयरलाई सहयोग गरिहालिन्छ नि !’
 
उता नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले सबै साथी र शुभेच्छुकहरुबाट राम्रो प्रतिक्रिया दिइरहेको भन्दै जित्नेमा आफू विश्वस्त रहेको सुनाए ।
‘केही आकलन आए पनि डिटेल आएको छैन’, एमाले काठमाडौंको जिल्ला कमिटि कार्यालयमा रहेका उनले भने, ‘तर म ढुक्क र प्रफुल्ल छु ।’
 
काठमाडौंमा वैकल्पिक शक्ति उदाउने चर्चा भइरहँदा विद्यासुन्दरले त्यसलाई हल्लाको संज्ञा दिए । उनले भने, ‘काठमाडौंमा वैकल्पिक शक्ति प्रतिस्पर्धामा उत्रिँदैन, मुख्य दौड एमाले र कांग्रेसको हुनेछ ।’
 
यसपालीको स्थानीय चुनावमा उनले उम्मेदवारभन्दा मतदाता बढी उत्साहित देखे । भोट हाल्ने अधिकारको सदुपयोग गर्न घाममा पनि लाइनमा बसेर भोक-तिर्खा केही नभनी जुटेका स्थानीय मतदाता देखेर उनी दंग परे ।
 
कर्मचारीले अभिभावक नपाएको अवस्थामा स्थानीय चुनावले त्यो अभाव पूरा गरेर गतिशील पार्ने उनले देखेका छन् । चुनावमा जनताको उत्साहलाई व्याख्या गर्दै उनले थपे, ‘यो अवस्था भनेको अब समग्र रुपमा विकास हुनुपर्छ र देशमा स्थिरता आउनुपर्छ भन्ने सन्देश हो ।’
 
चुनावी परिणाममा केही गरी आफ्नो पल्ला खस्किए जनताको मतलाई मान्दै समुदायमै भिजेर काम गर्ने उनको योजना छ ।