बिबिध

देशभर चिसो अझै बढ्ने

 
रेडियो परासी, माघ १ । देशभर अझै चिसो बढ्ने मौसमविदले बताएका छन् । आज शनिबार बेलुकादेखि अर्को पश्चिमी वायु नेपाल भित्रन लागेको तथा अहिले पश्चिमी जेट स्ट्रिम नामक हावा नेपालमाथि रहेकाले चिसो अझै बढ्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।
उहाँका अनुसार यसकै प्रभावले बेलुकादेखि एक दुई दिन देशभरिकै मौसम बदली हुनेछ । दिउँसो बादल र हावा लागेपछि चिसो झन् बढ्नेछ । पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने उहाँले जानकारी दिनुभयो ।
अब एक पटक चिसो ह्वात्तै बढ्ने र त्यसपछि भने विस्तारै तातो हुँदै जाने मौसमविद् अर्यालको अनुमान छ । अहिले पनि तराईसहित देशका धेरै ठाउँमा बाक्लो हुस्सु लागेको छ ।