बिबिध

१६ श्राद्ध, पितृपक्षमा यी कुराहरू नखानु

 
परासी, भाद्र ३१ । भोलिदेखि सोह्र श्राद्ध लाग्दैछ । घटस्थापनाको अघिल्लो दिनसम्म पितृपक्ष रहन्छ । सोह्र श्राद्धका बेलामा पितृहरूलाई तर्पण दिँदा उहाँहरू खुशी हुनुहुन्छ । उहाँहरूको कृपा भयो भने घरपरिवारमा सुख समृद्धि प्राप्त हुन्छ ।
शास्त्रहरूले पितृपक्षमा केही खानेकुरालाई वर्जित गरेका छन् । यो १६ दिन मासु कुनै पनि हालतमा खानुहुँदैन । त्यसैगरी लसुन, प्याज, गाजर, दही मिसिएको पीठो अनि रस र गन्ध भएका अन्य खाद्यवस्तु पनि यो बेला नखानू भनी शास्त्रमा बताइएको छ ।
मासु, लसुन, प्याजजस्ता वस्तुलाई तामसिक मानिएको छ । तामसिक खाना खाँदा हाम्रा विचार अवपित्र हुन पुग्छन् । मन एकाग्र हुन पाउँदैन । श्राद्धको समय पूजन र ध्यानका लागि श्रेष्ठ मानिएको छ । श्राद्धकर्मका लागि मनको एकाग्रता र पवित्रता आवश्यक हुन्छ । त्यसैले मनमा विकृत सोच ल्याउने खानेकुरा यो बेला नखानु नै श्रेयस्कर छ ।
धार्मिक मान्यता अनुसार श्राद्धमा वर्जित खानेकुरा खाँदा पितृदेवता रुष्ट हुन्छन् । पितृहरू रुष्ट भए भने घरमा सुख र समृद्धि आउन सक्दैन । पितृदेवतालाई खुशी नबनाई अन्य देवीदेवतालाई पनि खुशी बनाउन सकिँदैन ।
श्राद्धमा गंगाजल, दूध, मह, कुश र तिल अत्यावश्यक हुन्छन् । पिण्डमा तुलसी चढाएर समर्पण गर्दा पितृहरू खुशी हुन्छन् भन्ने मान्यता छ ।श्राद्धमा पातको टपरीमा पिण्डदान गर्नुपर्छ । श्राद्धपछिको भोजनमा सुन, चाँदी, काँस वा तामाको भाँडो प्रयोग गर्नु उत्तम मानिन्छ । केराको पातमा भोजन गर्नु राम्रो मानिँदैन ।
श्राद्धमा कुशको आसन सर्वश्रेष्ठ मानिन्छ । त्यस्तै रेशम, ऊन र काठको आसन पनि राम्रो मानिन्छ । जलाञ्जलिका अलावा दाहिने हातको बुढी औंलाबाट झारेर जलार्पण गर्नु उपयुक्त मानिन्छ ।